अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टर ड्रामा ‘छड्के २’ प्रदर्शनको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ । वितरक सुनिल मानन्धरले दर्शक नै नआएपछि हलबाट फिल्म हटाइएको जानकारी आफूले पाएको बताए ।
वानसिनेमाज्, बिग मुभिज, आईएनआई लगायत मल्टिप्लेक्सले एक-एक शो उपलब्ध गराएपनि औंलामा गन्न सकिने संख्यामा मात्र दर्शकको उपस्थिति देखियो । ‘अनमोलको करिअरमै एक साता नहुँदै फिल्म हलबाट उत्रिएको यो पहिलो हो,’ मानन्धरले भने, ‘यसले ठूलो व्यावसायिक धक्का लागेको छ । हामीले यस्तो आशा राखेका थिएनौं ।’
वितरक मानन्धरका अनुसार फिल्मको पाँचदिने कमाइ ३० लाखभन्दा कम छ । तीन करोड रुपैयाँ बजेटमा निर्माण भएको फिल्ममा आफूले डेढ करोड लगानी गरेको र त्यो डुबेको उनले बताए । ‘मैले अनमोल केसी हेरेरै त्यो लगानी गरेको थिएँ । कथा र निर्देशक नहेरिकनै पैसा खन्याएको हुँ,’ उनले भने ।
नायक र स्टारडम हेरेर पैसा लगानी गर्नेहरुलाई ‘छड्के २’को असफलताले सतर्क बनाएको उनले बताए । ‘अब कथावस्तु हेरेरै लगानी गर्ने ट्रेन्ड आउनेछ र मैले पनि त्यस्तै गर्छु । मैले अहिलेसम्म २०० भन्दा बढी फिल्म वितरण गरें तर एक करोडभन्दा बढी डुबेको यो पहिलोपटक हो,’ मानन्धरले भने ।


0 Comments